Sunday, March 10, 2013

नेपालमा पनि अल्टो ८००


मारुती  सुजुकी कम्पनीको नयाँ कार 'अल्टो ८००' नेपाली बजारमा पनि भित्रिएको छ । चौंधरी ग्रुप अन्तर्गतको सिजी अटोमोबाइल्सले यसको बिक्री प्रारम्भ गरेको हो । ह्याचब्याक सिरिजको यो कार १ सय ४० किलोमिटरसम्मको अधिकतम गतिमा दौडन सक्छ । यसमा न्यू लाइटर क्र्यान्कसाफ्ट, न्यू सिलिन्डर हेड, न्यू पिस्टन रिङ र न्यू गियरबक्स जस्ता नयाँ विशेषताहरु रहेका छन् ।

नाम अनुसार यसमा ८ सय सिसीको इन्जिन छ । यसमा ५ जना व्यक्ति बसेर यात्रा गर्न मिल्छ । पाँच म्यानुअल गियरयुक्त यो कार सस्तो  मूल्यको सर्वाधिक उपयुक्त पारिवारिक कार बन्ने कम्पनीको दाबी छ ।
पहिलेको मोडलको भन्दा यसको पिकअप निकै नै राम्रो रहेको कम्पनीले जानकारी दिएको छ । यसको पेट्रोल इन्जियुक्त मोडलले २२ दशमलव ७४ किलोमिटरको माइलेज दिन्छ । यो अघिल्लो मोडलको तुलनामा १५ प्रतिशत बढी हो । कम्पनीले यसलाई यो क्लासको सर्वाधिक राम्रो माइलेज अर्थात 'बेस्ट इन क्लास' माइलेज कारको उपमा दिएको छ ।
अल्टो ८०० मा भएको नयाँ वेभप|mन्ट डिजाइनका कारण यसले इन्ट्री लेभलका कारहरुमा हुने आकर्षणमा निकै नै बृद्धि गरेको छ । इलिगेन्ट र स्मुथ कर्भ र प्रोमिनेन्ट हि्वल आर्कका कारण यसको आकर्षण बढाउन भूमिका खेलेको छ । यसको इन्टेरियर पनि स्पेसियस छ । पछिल्लो भागका सिटहरु पनि सहज छन् । अघिल्लो भागमा रहेको लेग रुममा पनि १५ मिलिमिटरले वृद्धि भएको छ । सुधारिएको इन्जिनका कारण यसले ३५०० आरपीएममा ६९ एनएमको टर्क र ६००० आरपीएममा ४८ पीएसको पावर प्रदान गर्छ । त्यसैगरी सुधारिएको सस्पेन्सनका कारण नेपाली सडकका लागि उपयुक्त पर्फमेन्स प्रदान गर्छ ।
कम्पनीले यसलाई ए टु सेग्मेन्टको इन्ट्री लेभल कार मानेको छ । ग्राहकलाई नयाँ अल्टो नयाँ डाइनामिक्सका रुपमा उपलब्ध गराएको बताएको छ । नेपाली बजारमा यो 'बेस्ट माइलेज कार' भएको र हाल यसलाई सुपर प्रमोसनल मूल्यका रुपमा उपलब्ध गराएको कम्पनीको दावी छ । हाल तीन मोडलमा अल्टो ८०० उपलब्ध छ । अल्टो स्ट्यान्डर्डको मूल्य १३ लाख ४९ हजार, अल्टो एसीको मूल्य १४ लाख ९९ हजार र अल्टो एलएक्सआईको मूल्य १६ लाख २९ हजार रुपैयाँ रहेको छ । विभिन्न ६ रंगमा यो कार नेपाली बजारमा उपलब्ध छ ।
पहिलो पटक कार किन्न चाहने, मूल्य र माइलेजमा ध्यान दिने र दुई पांग्रे सवारी साधन चढेर चार पांग्रे चढ्न चाहनेहरुलाई कम्पनीले आफ्नो लक्ष्यित ग्राहक मानेको छ । नेपालमा मारुती सुजुकी गाडीको वितरक सिजी अटोमोबाइल्सका प्रशस्तै सर्भिस र सेल्स नेटवर्क भएको र पहिलेका गाडीहरु पनि लोकपि्रय भएकाले आगामी दिनमा यसले ग्राहकको विश्वास जित्ने कम्पनीको दावी छ ।

अल्टो ८००  पहिलेको मारुती अल्टोको अपग्रेडेड भर्सन हो । कम्पनीले सवैभन्दा पहिलो सन् २००० को सेप्टेम्बरमा अल्टोलाई भारतीय बजारमा ल्याएको थियो । त्यस यता यो मोडलका २० लाख भन्दा बढी कार बिक्री भैसकेका छन् । नेपालमा समेत ५ हजार भन्दा बढी अल्टो प्रयोगमा भएको कम्पनीले जानकारी दिएको छ । सुजुकी मोटर कर्पोरेशन र मारुती सुजुकीका करीब २ सय इन्जिनियरले ४ बर्षको मेहनत पश्चात यो कार तयार गरेको बताइएको छ । कम्पनीका अनुसार कम्पनीका इन्जिनियरिङ टीमले यसमा धेरै नयापन दिएका छन् र यसको सेक्युरिटी सिस्टममा पनि निकै नै सुधार गरिएको छ ।

No comments:

Post a Comment