Sunday, November 8, 2015

स्मार्टफोनमै तिहार

स्मार्टफोनमा तिहार ? सुन्दा अचम्म लाग्न सक्छ । तर हो, अब  आफ्नो स्मार्टफोनमै तिहार मनाउन र
तिहारको झलक पाउन सकिन्छ । तिहारको अवसरमा गरिने लक्ष्मीपुजादेखि लिएर रंगोलीको डिजाइन समेत आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गर्न सकिन्छ । गुगल प्ले स्टोरमा यी एप्स उपलब्ध छन् ।



नेपालमा भन्दा पनि भारतमा यस्ता प्रशस्तै एप्स निर्माण भएका छन् । भारत र नेपालको संस्कृति धेरै मिल्दोजुल्दो भएकोले हामीले त्यस्ता एप्सको प्रयोग गरी तिहारलाई थप उल्लासमय बनाउन सक्छौं । भारतमा तिहारलाई दिवाली भनेर मनाउने भएकाले धेरै एप्समा दिवाली शब्द जोडिएका छन् ।

रंगोली फर दिवाली
तिहारको समयमा धेरै चर्चा रंगोलीको पनि हुन्छ । घरको अगाडि सुन्दर रंगोली डिजाइन गर्नका लागि रंगोली फर दिवाली एप्सको सहयोग लिन सकिन्छ । यो एप्समा एक सय भन्दा बढी रंगोलीका डिजाइन उपलब्ध छन् । आफुलाई मन लागेको रंगोली छनोट गरी निर्माण गर्न सकिन्छ । यो एप्सको प्रयोग अफ लाइनमा पनि गर्न सकिन्छ ।

लक्ष्मी पुजा–जनाना प्रबोधिनी
लक्ष्मी पुजाको समयमा लक्ष्मीका साथ गणेशको पनि पुजा गरिन्छ । पुजा गर्ने समयमा सधै पुरोहित उपलब्ध हुन्छन् भन्न सकिदैन । त्यसका लागि यो एप्स आफ्नो स्मार्टफोनमा इन्स्टल गर्न सकिन्छ । यसमा लक्ष्मी पुजाका लागि सबै विधि दिइएको छ । पुजा विधिको रेकर्ड पनि पुरोहितकै आवाजमा उपलब्ध छ । पुजाको तयारीदेखि लिएर संकल्पको समयसम्मका सबै प्रक्रिया यसमा उपलब्ध छन् ।

त्यसैगरी लक्ष्मी पुजन नामक अर्को एप्स पनि उपलब्ध छ । यसमा लक्ष्मी पुजनको बिधि, आरतीको बिधि आदि विभिन्न तरिकाका वारेमा जानकारी दिइएको छ ।
यी एप्सको प्रयोग गरी लक्ष्मी पुजालाई थप उल्लासमय बनाउन सकिन्छ ।

दिवाली पुजा अडियो एचडी
यो तिहारको सबै समयका लागि वान–इन–अल एप्स हो । यसमा अडियो एचडी वालपेपर, रंगोली, लक्ष्मी गणेश आरती,  मन्त्र आदि हिन्दी र अंग्रेजी भाषामा उपलब्ध छ । गुगल  प्ले स्टोरमार्फत इन्स्टल गरी यो एप्स प्रयोग गर्न सकिन्छ ।

५० टप दिवाली सङ्स
लक्ष्मी पुजा र तिहारको अन्य अवसरलाई थप रोमान्चक बनाउनका लागि यो एप्सको प्रयोग गर्न सकिन्छ । एउटै एप्लिकेसनमा लक्ष्मीसँग सम्बन्धित ५० गीत उपलब्ध छन् । यसमा लक्ष्मी आरती, भजन, ब्रत कथा, मन्त्र, देवीका १ सय ८ नाम आदि समेत उपलब्ध छन् ।

लक्ष्मी टेम्पल फर दिवाली
पुजाको समयमा ब्यस्तताका कारण मन्दिर जान नपाएमा आफ्नो स्मार्टफोनमै यो एप्सको प्रयोग गरी भर्चुअल मन्दिर बनाउन सकिन्छ । यति मात्र नभई मन्दिरलाई आफ्नै तरिकाले डिजाइन समेत गर्न सकिन्छ । यसमा वालपेपर, मन्दिरका पिलर,  आरती, फुल, बत्ति आदि समेत बनाउन सकिन्छ ।

दिवाली २०१५
तिहारको समयमा साथीभाई र आफन्तलाई शुभकामना पठाउनका लागि यो एप्सको प्रयोग गर्न सकिन्छ । यो वाहेक वालपेपर, रिङटोन तथा रंगोलीका डिजाइन पनि सबैमा सेयर गर्न सकिन्छ ।

यी वाहेक दिवाली धमाल, ह्याप्पी दिवाली, दिवाली ग्रिटिङ कार्ड, दिवाली दिया आदि प्रशस्तै एन्ड्रोइड एप्स समेत उपलब्ध छन् । गुगल प्ले स्टोरमार्फत यी एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

२०७२ कार्तिक २० को साप्ताहिकमा प्रकाशित 

No comments:

Post a Comment