Saturday, June 29, 2013

गुगल एडसेन्स


मैले गुगलबाट यति पैसा पाए नि ....
कतिपय वेबसाइट र ब्लग संचालकहरु यस्ता कुरा सुनाइरहेका हुन्छन् । बिश्वमा लाखौ वेबसाइट बनेका छन् र तिनका विभिन्न फरक फरक बिषयवस्तु र उद्येश्य हुनसक्छन् । कतिपय वेबसाइट र ब्लग रहरै रहरमा पनि बनेका हुन्छन् । तर पनि सबैको एउटा प्रमुख उद्येश्य ‘आफ्ना कुरा पाठक सम्म पु¥याउनु’ हुन्छ । यो अवस्थामा यदि राम्रो र चल्तीको वेबसाइट वा ब्लग बन्यो भने लोकप्रिय साइट गुगलले आफ्नो तर्फबाट निश्चित खालका बिज्ञापन राखीदिन्छ, जसलाई गुगल एडसेन्स भनिन्छ । त्यही एडसेन्स बापत वेबसाइट वा ब्लग संचालकले निश्चित डलर पाउन सक्छन् । यसले गर्दा वेबसाइट वा ब्लग संचालकको एउटा प्रमुख लक्ष्य गुगल एडसेन्स बापत रकम हात पार्नु पनि हुन्छ र यसरी रकम हात पर्दा उनीहरु खुशी नहुने कुरै भएन ।



नेपालमा पनि हजारौ साइट र ब्लग निर्माण भैरहेका छन् । उनीहरुको पनि एउटा प्रमुख लक्ष्य गुगल एडसेन्स वापत रकम हात पार्नु हुन्छ । यद्यपि विशेषतः वेबसाइट संचालनका लागि बिज्ञापनका अन्य बैकल्पिक माध्यम पनि हुनसक्छन् । तर एडसेन्स नै एउटा भरपर्दो र ठूलो स्रोत हो ।

गुगलले यो सेवाको आधिकारिक घोषणा सन् २००३ को जुन १८ का दिन गरेको थियो । त्यतिखेर यसलाई एउटा ‘सेल्फ सर्भिस अप्सन’ भनिएको थियो । हुन पनि कुनै निश्चित विषयवस्तुमा आधारित वेबसाइटलाई त्यही विषयवस्तुमा आधारित बिज्ञापन उपलब्ध गराउने उसको लक्ष्य थियो । यसका लागि उसले बिज्ञापनदाताको समूह बनायो र उनीहरुको बिज्ञापन कुनै वेबसाइटमा उपलब्ध गराउने योजना बनायो । वेबसाइटको कुनै सानो स्थानमा कुनै बिज्ञापन राख्ने र त्यसमा गरिएको क्लिकका आधारमा उसले रकम उपलब्ध गराउने योजना थियो । तर ती साइटले गुगलले उपलब्ध गराएको गाइडलाईनलाई पालना गरेको हुनुपर्छ । यी सबै कुरालाई गुगलको सम्पादकीय समूहले अनलाइन रिपोर्टका आधारमा मूल्यांकन गरिरहने बताएको थियो । त्यही गुगल एडसेन्स प्रारम्भ भएको १० बर्ष पुगेको छ । यो समयमा एडसेन्सले धेरै उपलब्धी हासिल गरेको छ ।

एडसेन्सको अवधारणा लागु हुदा अहिले जस्तो विश्वमा धेरै वेबसाइट थिएनन् । ब्लगको प्रचलन झन् पछि मात्र भएको हो । यसले गर्दा शुरुमा यस वापत धेरै आम्दानी भएन । तर विस्तारै यसले गति लिन थाल्यो । सन् २००५ मा गुगललको कुल आम्दानीको १५ प्रतिशत यही एडसेन्सले कमायो । समयक्रममा एडसेन्सको दायरा पनि फराकिलो बन्दै गयो । यसमा नया“ प्रावधान पनि थपिए । सन् २००९ मा त्यस्ता बिज्ञापन अर्थात एड डिस्प्ले गर्नका लागि मल्टिपल नेटवर्कलाई सक्रिय गराउने घोषणा ग¥यो । सन् २०१० को फेब्रुअरीमा अझै सान्दर्भिक एड उपलब्ध गराउनका लागि सर्च हिस्ट्रीको प्रयोग समेत गर्न थाल्यो । विकिपिडियाका अनुसार यी सबैका आधारमा सन् २०११ मा मात्र गुगलले आफ्नो कुल आम्दानीको २८ प्रतिशत यही एडसेन्सबाट कमाएको छ । पहिले वेबसाइटमा मात्र यो सेवा उपलब्ध भएकोमा अहिले साइट सर्च रिजल्ट, मोबाइल साइट र मोबाइल एप्स, फिड्स, भिडियो, अनलाइन गेम्स आदि सबैमा एडसेन्सका एड पाउन सकिन्छ । गुगलले एडसेन्समा अझै बढी लगानी गर्ने बताएको छ । अब एड साइज अझै ठूलो बनाउने, प्रकाशकहरुको टुल अप्डेट गर्ने र अर्को लोकप्रिय सर्च इन्जिन याहुको नेटवर्कमा समेत एडसेन्स राख्नका लागि कुराकानी भैरहेको बताएको छ ।

१० बर्ष अघि एडसेन्स प्रारम्भ गर्दा गुगललाई यो कार्यमा सहयोग पु¥याउने एक लाख बिज्ञापनदाता भएको बताइएको थियो । सन् २००७ मा उनीहरुको संख्या १० लाख भएको बताइएको थियो । त्यस पछि पनि यो संख्या निरन्तर बढिरहेको हुनसक्छ । तर गुगलले आधिकारिक संख्या कतै उल्लेख गरेको पाइदैन ।

१० औं बार्षिकोत्सवका अवसरमा गुगलका एड्स एन्ड कमर्सका सिनियर भाइस प्रेसिडेन्ट सुसान वोज्सिस्किले गुगल ब्लगमा केही कुरा पोस्ट गरे । स्थापना कालमा गुगलको एडसेन्स एउटा नया“ प्रयोग भए पनि अहिले यो गुगलको बिज्ञापन ब्यवसायको अभिन्न भाग भएको उनको भनाई छ । अहिले एडसेन्सको एउटा कम्युनिटी नै बनेको छ, जसमा २० लाख भन्दा बढी प्रकाशक संलग्न छन् भनेका छन् । ती प्रकाशकले गत बर्ष मात्रै ७ अर्ब डलर एडसेन्सबाट कमाए । वोज्सिस्किले आफ्नो गार्डेनका वारेमा लेख्ने न्युजिल्यान्डकी एक रिटायर्ड महिला, कोलोराडोको एक टेक सपोर्ट एक्स्पर्ट र एक जना थेम पार्क रिभ्युअर गरी तीन जना प्रकाशकका वारेमा उल्लेख गरेका छन्, जसले एडसेन्स वापत प्रशस्त पैसा कमाएका छन् । यसको अर्थ सामान्य ब्यक्तिले पनि एडसेन्स वापत पैसा कमाउन सक्छन् भन्ने उनको भनाई रहेको छ । उनको भनाई छ, ‘उनीहरुले लेखेको विषयवस्तु पढ्दा एडसेन्सलाई अझै फैलाउन हामीलाई प्रेरणा मिलिरहेको हुन्छ ।’ यसको अर्थ एडसेन्स पाउने खाले वेबसाइट निर्माण गर्नका लागि त्यसै अनुसारको शब्द प्रयोग भएको हुनुपर्छ, जसले गुगललाई प्रभावित गरोस् ।

कान्तिपुरमा प्रकाशित
2070.03.14

No comments:

Post a Comment