नेपालमा कतिपय कम्पनी वा संस्थाहरुले फुटबलको बारेमा आधिकारिक जानकारी दिनका लागि फेसबुक एकाउन्ट नै प्रयोग गरेका छन् । मोबाइल सेवा प्रदायक संस्था नेपाल टेलिकमले नै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा यस्तो व्यवस्था गरेको छ । उक्त एकाउन्ट मार्फत खेलको पलपलको जानकारी लिन सकिन्छ । यो वाहेक त्यहाँ राखिएका विभिन्न प्रश्नको उत्तर दिएर उपहार पाउन सकिन्छ भने विभिन्न जानकारी लिन पनि सकिन्छ ।
शिवम सिमेन्टले पनि यस्तै एकाउन्टको निर्माण गरेको छ । सिमेन्टले बिश्वकप प्रारम्भ हुनु अघि देखि नै ‘फिफा प्रेडिक्ट एन्ड विन कन्टेस्ट’ गरिरहेको छ । विभिन्न प्रश्नको सही उत्तर दिने सहभागीलाई विभिन्न पुरस्कारको व्यवस्था गरेको छ ।
यी दुई केही उदाहरण मात्र हुन् । फेसबुक वा ट्वीटर जस्ता सामाजिक सञ्जाल आफैले पनि यस्ता विभिन्न जानकारी दिइरहेका छन् । फेसबुकका १ अर्ब २८ करोड प्रयोगकर्ता मध्ये करिब ४० प्रतिशत प्रयोगकर्ता फुटबल फ्यान छन् । सन् २०१० मा अफ्रिकाको जोहानेसबर्गमा बिश्वकप हुदा फेसबुकका प्रयोगकर्ता ५० करोड प्रयोगकर्ता मात्र थिए । अहिले एउटा फुटबल टीमलाई नै फेसबुकमा लाइक गर्नेको संख्या यति पुगिसकेको छ ।
फेसबुक प्रयोगकर्ताले खेल अवधिभर ‘ट्रेन्डिङ वल्र्ड कप’ नामक स्पेसल वल्र्ड कप सेक्सन मार्फत आफ्नो मन पर्ने टीम र खेलाडीलाई ट्रयाक गर्न सक्छन् । वेब र मोबाइल डिभाइस दुवैमा उपलब्ध उक्त हबमार्फत पछिल्लो स्कोर, गेम हाइलाइट तथा खेलसँग सम्बद्ध विभिन्न फ्रेन्ड, प्लेयर तथा टीमका पोस्ट पनि हेर्न सकिन्छ । यो वाहेक इन्टर्याक्टिभ म्यापको सहयोगले टप खेलाडीका फ्यानहरु संसारको कुन स्थानमा बसेका छन् भन्ने कुरा पनि हेर्न सकिन्छ । फेसबुकले फेसबुकरेफ नामक पेज पनि लन्च गरेको छ । उक्त पेजमा फ्यानहरुले फेसबुकको अफिसियल कमेन्टेटरले खेलका वारेमा गरेको कमेन्ट्री हेर्न सक्छन् ।
ट्वीटरले पनि सबै ६४ खेलका वारेमा रियल टाइम ट्रयाक गर्ने सुविधा दिएको छ । विभिन्न टीम र खेलाडीलाई फलो गर्नका लागि ट्वीटरको आधिकारिक वल्र्डकप ह्यासट्याग प्रयोग गर्न सकिनेछ । यो वाहेक अफिसियल एकाउन्टका लागि फिफावल्र्डकप र विभिन्न टीमका लागि पनि यस्तै फरक एकाउन्ट मार्फत फलो गर्न सकिनेछ ।
ट्वीटरले सन् २०१० को बिश्व कपबाट प्रारम्भ गरेको ह्यासफ्ल्याग अहिले पनि राखेको छ । ह्यासफ्ल्याग भनेको ट्वीटरमा बिश्वकप खेल्ने देशको छोटो रुप अर्थात ३ वटा अक्षरमा ह्यासट्याग राखेपछि देखिने दृश्य हो । यी तीन अक्षर राखेपछि ट्वीटर वेब तथा मोबाइलमा उक्त देशको झन्डाको तस्बिर देखिन्छ, जसले गर्दा ट्वीटर पनि रंगीचंगी देखिन्छ । ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो । त्यसैगरी वल्र्डकप र वल्र्डकप २०१४ लाई वल्र्डकप टाइमलाइनको रुपमा प्रयोग गरिएको छ । यी ह्यासट्यागहरु राखेर गरिएको ट्वीटहरु उक्त पेजमा देखिन्छन्, जसबाट खेलको रियल टाइम अपडेट पाउन सकिन्छ । आफुले पनि त्यही ह्यासट्यागमा ट्वीट गर्न सकिन्छ ।
पहिलो पल्ट गोललाइन प्रविधि
बिश्वकपकै इतिहासमा पहिलो पटक गोल लाइन प्रविधिको प्रयोग गरिएको छ । यसले गर्दा कसैले गोल गरेको हो कि होइन भनेर झुक्किनुपर्ने छैन । त्यसका लागि मैदानमा १४ वटा क्यामेरा प्रयोग गरिएका छन् । दुवै गोलपोस्टमा ७÷७ वटा क्यामेरा जडान गरिएका छन् । यी क्यामेरा पोस्टका हरेक दिशामा फिट गरिएका छन् । यी क्यामेराले प्रतिसेकेन्ड ५ सय तस्बिर खिचेर कम्प्युटरमा सेभ गर्छन् । अनि जब बलले गोल लाइन काट्छ, तब रेफ्रिको हातमा रहेको अत्याधुनिक घडी भाइब्रेट गर्छ र गोल लेखिन्छ । यसरी गोल भएको वा नभएको निश्चित हुन्छ । उक्त प्रविधिले कुनै गडबडी नगर्ने दाबी गरिएको छ । बिश्वकप प्रारम्भ हुनु अघि नै यो प्रविधिलाई ब्राजिलमा २४ सय पटक सफल परीक्षण गरिसकिएको छ । अघिल्लो बिश्वकपमा गोल भयो वा भएन भन्ने वारेमा विभिन्न विवादहरु हुने गरेका थिए । अब यो प्रविधिले त्यस प्रकारका विवादलाई समाधान गर्ने बिश्वास लिइएको छ ।
सुरक्षाको जिम्मेवारी रोबोट र ड्रोनलाई
बिश्व कपका लागि विशेष सुरक्षाको जिम्मेवारी रोबोटले लिएको छ । आयोजक राष्ट्र ब्राजिलले अमेरिकाको आईरोबोट नामक कम्पनीसँग उक्त रोबोट ७२ लाख डलरमा भााडमा लिएको हो । उक्त रोबोट ब्राजिलका १२ ठुला सहरको सुरक्षामा तैनाथ रहेको छ, जसले बिश्वकपको अवधिभर सिंगो सहरको सुरक्षा गर्नेछ ।
म्यासाचुसेट्समा अवस्थित आईरोबोट नामक कम्पनीले निर्माण गरेको यस प्रकारको सैन्य प्रकृतिको रोबोटलाई प्याकबट्स भनिन्छ । यी रोबोटमा संकास्पद देखिने वा लाग्ने वस्तुको पहिचान गर्नका लागि विशेष प्रकारको प्रोग्राम सेट गरिएको हुन्छ । यी रोबोटले शंकास्पद व्यक्ति वा बस्तुलाई ९ माइल प्रतिघण्टाको रफतारमा पकड्न सक्छन् । यो जस्तोसुकै जमीनमा हिड्न वा दौडन सक्छ भने २ मिटरको गहिराई भएको पानीमा उत्रेर समेत आफ्नो काम सम्पन्न गर्छ । प्याकबट्समा जीपीएस, भिडियो, इमेज डिस्प्ले, सिस्टम मनिटरिङ, इलेक्ट्रोनिक कम्पास र टेम्प्रेचर सेन्सर लगाइएको हुन्छ । पेन्टियम आधारित कम्प्युटरबाट उक्त रोबोट संचालित हुन्छ ।
त्यसैगरी मानवरहित इजरायली ड्रोन पनि परिचालित गरिएको छ । ड्रोनले स्टेडियममा तैनाथ फुटबल फ्यानहरुको सुरक्षा गर्नेछ ।
भुभुजेला होइन, क्याक्सीरोला
दक्षिण अफ्रिकामा भएको अघिल्लो बिश्वकपमा भुभुजेलाको आवाजले रंगशाला गुन्जिएको थियो । यस पटक भुभुजेलाको सट्टामा क्याक्सीरोला अर्थात माराकस नामक ब्राजिली ध्वनी उपकरण प्रयोग गरिएको छ । यद्यपि रंगशालामा लैजान निषेध गरिएकाले ती उपकरण रंगशालामा भने देखिएका छैनन् ।
गायब हुने स्प्रे पेन्ट
फ्री किकको समयमा रेफ्रिले पहिलो पटक भ्यानिसिङ स्प्रे पेन्टको प्रयोग गरिरहेका छन् । उक्त पेन्टले फ्री किकको समयमा लाइनको काम गर्छ । तर एक छिन पछि यो देखिन छोड्छ ।
ब्राजुका फुटबल
बिश्वकपमा प्रयोग गरिने फुटबल ब्राजुकामा प्रोपेलर आकारका पोलियुरिथेन प्यानल प्रयोग गरिएको छ, जुन एक अर्कामा बाँधिएर बसेका हुन्छन् । विभिन्न ज्योमिट्रिकल साइज मिलाएर बनाएकाले उक्त बल खेलाडीका वीचमा राम्रो समन्वय कायम गर्छ । हावामा बत्तिने वा अन्य तरिकाले ब्यालेन्स नमिल्ने सम्भावना हुदैन ।
हाई–टेक फुटबल बुट
फुटबल र खेलाडीका खुट्टाका वीचमा सर्वाधिक कम सामग्री प्रयोग गर्ने प्रतिष्पर्धामा फुटबल कम्पनी लागेका छन् । नाइकी कम्पनीले निर्माण गरेको मर्करियल सुपरफ्लाई बुटलाई पोर्चुगलका खेलाडी रोनाल्डो तथा अन्यले प्रयोग गरेका छन् । उक्त बुटमा थ्रि–निट वेभको प्रयोग गरिएको छ । त्यसैगरी बेल्जियम र आइभरी कोस्टका खेलाडीले वारियर ग्लोबल कम्पनीले निर्माण गरेका यस्तै बुट प्रयोग गरेका छन् । उनीहरुले प्रयोग गर्ने त्यस्तै एउटा बुटलाई ‘ग्याम्बलर’ भनेर चिनिन्छ । बललाई नियन्त्रण गर्नका लागि यसको अघिल्लो भागमा नाइलन पत्र लगाइएको छ । त्यसैगरी हल्का अनुभव गराउनका लागि यही कम्पनीका माइक्रोफाइबर समेत प्रयोग गरिएका छन् । स्क्रिमर नामक उक्त ब्रान्डमा ‘फोरडी एरोबेड इन्सोल’ को प्रयोग गरिएको छ, जसले खुट्टामा रक्तसंचार गराउनमा भूमिका खेल्छ ।
कुल किट्स र कन्सेप्ट
ब्राजिलको तापक्रमलाई अधार मानेर विभिन्न कम्पनीले त्यसै अनुसारका सामग्री निर्माण गरेका छन् । ब्राजिलका खेलाडीको जर्सी पहिले भन्दा ५६ प्रतिशत बढी हावा प्रवाह हुने किसिमले निर्माण गरिएको छ । यसमा ९४ प्रतिशत पोलिस्टर र ६ प्रतिशत मात्र कटन प्रयोग गरिएको छ । यसले गर्दा खेलाडीलाई सुविधाजनक अनुभूति हुन्छ ।
एडिडासले विभिन्न सिरिजका प्रि–कुलिङ स्लिभ र भेस्ट डिजाइन गरेको छ, जसलाई खेलाडीले खेल भन्दा अघि वा पछि र तालिमको बेलामा समेत प्रयोग गर्न सक्छन् । खेलाडीको शरीरको तापक्रममा कमी ल्याउने किसिमले यी सामग्री निर्माण गरिएको छ ।
बिश्व कप हेर्ने बानी
सामसुङले विभिन्न फुटबल फ्यानले कसरी फुटबल खेल हेर्छन् भनेर अनुसन्धान गरेको थियो । अनुसन्धानको नतिजा यस्तो छ ।
एक्लै हेर्ने ः २३ प्रतिशतले घरमा एक्लै बसेर हेर्न चाहन्छन् ।
कार्यालय भन्दा बाहिर ः एक चौथाई भन्दा बढी अर्थात २७ प्रतिशतले फुटबल हेर्नकै लागि बिदा लिइसकेका छन् ।
समय भन्दा पछि ः ४४ प्रतिशतले खेललाई रेकर्ड गरेर पछि कुनै फुर्सदको समयमा हेर्न चाहन्छन् ।
स्मार्ट भ्यु ः लगभग ३० प्रतिशतले यो खेललाई स्मार्टफोन, ट्याब्लेट वा स्मार्ट टिभीमा हेर्ने योजना बनाएका छन् ।
www.fifa.com
ब्राजिलमा भैरहेको बिश्वकपका वारेमा जानकारी लिनका लागि हामी विभिन्न संचार माध्यमको प्रयोग गर्छौ । यसको आधिकारिक जानकारी लिनका लागि भने हामी यो साइट प्रयोग गर्न सक्छौ । बिश्वकप आयोजना गर्ने संस्थाको नाम फिफा हो । यसको पूर्ण रुप फेडरेसन इन्टरनेसनल डी फुटबल एसोसिएसन हो । आफुले गरेका हेरक गतिबिधिलाई फिफाले यही वेबसाइटमा समेटेको हुन्छ । त्यसैले बिश्व कपका लागि आएका विभिन्न देश र तिनका समूह, नतिजा तथा अन्य विभिन्न गतिविधि जानकारी लिनका लागि यसको अध्ययन गर्न सकिन्छ । यो वाहेक फिफाका अन्य समग्र गतिविधि अध्ययनका लागि पनि यो साइट निकै नै उपयोगी छ । यद्यपि बिश्व कपका वारेमा जानकारी दिने साइट प्रशस्तै छन् । तर यो साइट नै आधिकारिक मानिन्छ ।
No comments:
Post a Comment