तिम्रो घरमा खेलौना अर्थात डल छ ? यो बिग्रियो भने के गर्छौ ? सायद फ्याकिदिन्छौ होला । तर अष्ट्रेलियाको सिड्नीमा यस्ता बिग्रिएका खेलौना बनाउने अस्पताल नै छ । यसको नाम नै ‘डल हस्पिटल’ राखिएको छ । सन् १९१३ मा यसको स्थापना भएको थियो । त्यतिखेर ह्यारोल्ड च्यापम्यान सिनियरले यसको स्थापना गरेका थिए । त्यसपछि उनका भाइले जापानबाट विभिन्न प्रकारका डलहरु लिएर बिक्री गर्थे । पछि यस्ता डल मर्मत गर्ने क्रम पनि बढ्यो । पछि सन् १९३० देखि उनका छोरा च्यापम्यान जुनियरले यो पेशा अंगाले । पछिल्लो समयमा यहा छालाका सामान, खेलौना र छाताहरु समेत मर्मत गर्न थालियो । हाल च्यापम्यान जुनियरका छोरा जियोफले यो संचालन गरिरहेका छन् । यो हस्पिटलमा अष्ट्रेलिया बाहेक न्युजिल्यान्डबाट समेत मर्मतका लागि डल ल्याइन्छन् । साना बालबालिकाले आफ्नो बिग्रिएको डल मर्मत भएको देख्दा ब्यक्त गर्ने खुशी हेर्नकै लागि पनि यो पेशा निकै नै रोमान्चक रहेको जियोफले बताएका छन् । यहा डल मर्मत बाहेक बिक्री पनि गरिन्छ ।
डल हस्पिटलमा अहिले तेस्रो पुस्ताले संचालन गरिरहेका छन् । बाजे, बुवा अनि नातीले । मर्मत गर्ने सीप पनि उनीहरुले परिवारबाटै सिकेका हुन् । कुनै रोगको विशेषज्ञ चिकित्सक भए जस्तै फरक फरक प्रकारका डल मर्मत गर्नका लागि फरक ब्यक्ति छन् । पुरानो जमानाका डलदेखि लिएर आधुनिक डलसम्म यहा“ मर्मत गरिन्छ । टेडी बियरदेखि सफ्ट टोय र रकिङ हर्ससम्म यहा“ मर्मत गरिन्छ । यो वाहेक सुटकेश, ह्यान्ड ब्याग र छाता समेत मर्मत हुन्छन् । अहिले सम्म उक्त हस्पिटलमा ३० लाख डल मर्मत गरिएका छन् । साना नानीहरुले आफ्नो डल बिग्रदा दुखी हुने र पछि मर्मत गरेर फेरि पहिलेकै जस्तो बन्दा खुशी हुने गर्छन् । उनीहरुमा भएको त्यो खुशी देख्दा आफुलाई निकै नै सन्तुष्टी मिल्ने जियोफको भनाई छ ।