Saturday, May 18, 2013

अनलाइनमै खाना र खाजा

एकराज सुवेदी
केही समय अघि खाना पारखीहरुलाई मध्यनजर राख्दै सिंहा ग्रुपले इजि खाना डट कम नामक अनलाइन सेवा प्रारम्भ गर्यो । यो सेवा मार्फत खाना पारखीहरुले रेष्टुराका बारेमा पुर्ण जानकारी लिन सक्छन् । सिंहा ग्रुपका कार्यकारी अधिकृत अरनिको सिंहका अनुसार खाना संस्कृतिमा परिवर्तन आएकाले तिनलाई सजिलो वनाउन वेबसाईट सहयोगी रहने छ ।
 ग्राहकले इजि खाना मार्फत एउटा पि्रभिलेज कार्ड खरिद गर्नुपर्नेछ । कार्डमार्फत दरवारमार्ग, ठमेल, लाजिम्पाट, ववरमहल, पाटन, झम्सिखेललगायतका स्थानहरुमा रहेका ५० भन्दा वढि रेष्टुराामा १० देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कम्पनीले प्रतिमहिना कम्तिमा पनि ५ हजार पि्रभिलेज कार्ड वितरण गर्ने जानकारी दिएको छ । यसमा मोबाइल फोनमार्फत म्यासेज गरेर पनि खाना वा खाजा अर्डर गर्न सकिन्छ । इजि खानाका लागि छोटकरी नाम इके लेखेर स्पेस पछि पाटन, ठमेल आदि रेष्टुरा भएको स्थानको नाम लेखी ४३४३ मा म्यासेज पठाएर विभिन्न स्थानका रेष्टुराका वारेमा जानकारी लिन सकिन्छ । यस्ता अन्य विभिन्न जानकारी लिन पनि म्यासेजको सहयोग लिन सकिन्छ । नेपालीहरुमा पनि खाना संस्कृतिमा परिवर्तन आएको छ । विशेष गरी दिउसोको खाजा खाने समय समेत फुर्सद नहुने अवस्था छ । यो अवस्थामा उनीहरुलाई भनेकै समयमा कार्यालयको कार्यकक्षमै खाजा पुर्याइदिने व्यवस्था हुनु समेत आवश्यक भैसकेको छ । यही कुरालाई दृष्टिगत गरी निर्माण गरिएको अर्को साइट फुडमान्डु डट कम भने पहिलेदेखि नै प्रचलित छ । उपयुक्त समयमा सेवा उपलब्ध गराउने प्रयोजनका लागि फोन गरेर वा यो साइटमा लग इन गरेर फाराम भरे पछि आफ्नो रुची अनुसारको खाना उपलब्ध गराउने काम फुडमान्डु डट कमले गर्छ । फुडमान्डुले विहान ११ बजेदेखि साझ साढे ८ बजेसम्म सेवा प्रदान गर्छ ।

फुडमान्डुको वेबसाइटमा काठमाडौंको रिङ रोडभित्रका ८० भन्दा धेरै रेष्टुराँका मेनु हेर्न सकिन्छ । ग्राहकले आफुलाई पायक पर्ने अथवा आफुले रोजेको रेष्टुराँको खाना अनलाइन रुपमै अर्डर गर्न सक्छन् ।
फुडमान्डु मार्फत आफ्नो बजेट अनुसारको खाना अर्डर गर्न सकिन्छ । रिङ रोडभित्र दुई किलोमिटरको दूरीमा रहेको स्थानमा लगभग ४५ मिनेटमा खाना पुर्याउने व्यवस्था गरिएको छ । रिङ रोड बाहिर समेत आवश्यक परेमा खाना उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि सहरका विभिन्न स्थानमा सवारी साधनसहित डेलिभरी पर्सनको व्यवस्था गरिएको छ । यो व्यवसाय प्रारम्भ गर्दा दिउसोको कर्पोरेट हाउसलाई लक्षित गरिएको भए पनि पछिल्लो समयमा घरेलु र विदेशी ग्राहक समेत प्रशस्त भएको फुडमान्डु डट कमका संचालक मनोहर अधिकारीको भनाई छ । अहिले त विदेशी ग्राहक नै धेरै छन् । विदेशमा यस्तो संस्कृति धेरै भएको र नेपालीहरु अझै यसमा अभ्यस्त नभैसकेकाले यस्तो भएको हो ।

इस्टोरनेपाल डट कमले अन्य कुराका साथै खानाका केही खाजाका परिकार पनि उपलब्ध गराउछ । विशेष गरी विदेशमा बसेका ब्यक्तिहरुले नेपालमा भएका आफन्तलाई यस्ता परिकार उपहारका रुपमा उपलब्ध गराउन सक्छन् । विशेष गरी मम, मिठाई र केक जस्ता परिकार बढी उपलब्ध गराउने गरेको यसका संचालक बिपिन खत्री बताउछन् । विशेष गरी पुराना र नियमित ग्राहकहरुले यो साइटको सेवा उपभोग गरिरहेका छन् । खाना र खाजा जस्ता परिकार स्वास्थ्यका लागि संवेदनशील पदार्थ भएकाले ग्राहकलाई ढुक्कसग गुणस्तरीय परिकार उपलब्ध गराउनु पर्छ भन्ने मान्यताका साथ आफुहरुले काम गरिरहेको खत्रीले जानकारी दिए ।

अनलाइन सपिङकै अवधारणामा अचानो डट कम नामक साइटले पनि केही समय सेवा दिइरहेको थियो । यो साइट मार्फत राजधानीमा बस्ने जोसुकैले पनि मासु अर्डर गर्न सक्छन् । कपनमा रहेको अचानो मिटल्यान्डले आफ्नो मासु पसलबाट प्रत्यक्ष रुपमा मासु बेच्नुका साथै अनलाइनबाट अर्डर गर्नेको घरघरसम्म समेत पुर्याइदिन्थ्यो । पछिल्लो समयमा अनलाइनबाट मासु अर्डर गर्नेहरुको संख्या बढिरहेको बताइएको थियो । तर अहिले भने यो साइट बन्द अवस्थामा रहेको छ ।

अनलाइन रुपमा खाना अर्डर गर्नेको संख्या विस्तारै बढ्दै गएको छ । प्रविधिसगको सम्बन्धमा सुमधुरता ल्याउन खोज्ने युवापुस्ताले यस्ता कार्यमा विशेष रुपमा चासो राख्छन् । नेपालमा अनलाइन सपिङको सुरुवात गर्ने श्रेय मुन्चा डट कमलाई जान्छ । यसले खासगरी विदेशबाट अर्डर गरिएका विभिन्न सामग्री नेपाली ग्राहकको घरघरमा पुर्याइदिने काम गर्छ । पछिल्लो समयमा यसको दायरा फराकिलो बन्दै गइरहेको छ । यो वाहेक नेपाली बजारमा नेपवे डटकम, हरिलो डट कम, भाटभटेनी अनलाइन डट कम, रोजेको डट कमलगायतका वेबसाइट सक्रिय छन् ।

हेर्दा सहज देखिए पनि अनलाइन खाना उपलब्ध गराउने प्रक्रियामा भने अझै विभिन्न समस्या विद्यमान छन् ।  काठमाडौंको अव्यवस्थित सहरीकरणले गर्दा भनेको ठेगाना पत्ता नलाग्दा खाना पुर्याउनै समस्या देखिएको छ भने टाफिक जामले पनि असर गरेको देखिन्छ । केही रेष्टुराको प्याकेजिङमा पनि समस्या छ । नेपालमा अनलाइन सपिङको अवधारणा विकास नभैसकेकाले पनि यी समस्या देखिएका हुन् ।

विश्वमा अनलाइन सपिङको प्रारम्भ सन् १९९४ देखि भएको मानिन्छ । त्यसबेला इ-बैंकिङदेखि पिज्जा हटको अनलाइन पिज्जा सप खुलेको थियो । त्यसपछिको समयमा अनलाइन सपमा ठूलै उपलब्धि देखिएको छ । इ-बैंकिङ मार्फत संसारको एउटा कुनाबाट अर्को कुनामा सामान किनबेच गर्न सकिन्छ । यही कार्यलाई पछ्याउदै नेपालमा पनि अनलाइन सेवा दिने विभिन्न कम्पनी एवं संस्थाहरु बजारमा परिचित हुने क्रममा छन् । ती मध्ये धेरैजसो कम्पनी वा संस्थाले राजधानीलाई नै कार्यक्षेत्र बनाएका छन् ।

साप्ताहिकमा प्रकाशित
http://www.ekantipur.com/saptahik/article/?id=10604

No comments:

Post a Comment