Wednesday, May 8, 2013

आइफोनदेखि आइपोपसम्म

- एकराज सुवेदी

केही दिन अघि सामसुङले पनि स्मार्ट वाच बजारमा लिने तयारी गरेको समाचार आयो । याहुमा भएको यो समाचार हेरेपछि एक जना पाठकले प्रतिक्रिया लेखे – भविष्यमा आइवाच पहिरेर आइकारमा चढ्ने धेरै मानिसहरु आइरेष्टुरा“मा आइफेमलीका साथ गएर आइफुड खानेछन् । रमाइलोका लागि लेखिएको भए पनि यो प्रतिक्रियालाई सामान्य ठट्टा मात्र मान्ने भने सकिदैन । भविष्यमा सूचना प्रविधिका यति धेरै सम्भावना देखिएका छन्, जसले गर्दा आइवाच र आइकार मात्र होइन, आइफेमली र आइरेष्टुरा“देखि आइफुड सम्म उपलब्ध नहोलान् भन्न सकिदैन ।


न्युयोर्क टाइम्सका अनुसार एप्पलले कभ्र्ड ग्लास भएको र एप्पलकै आइओएस अपरेटिङ सिस्टम अन्तर्गत चल्ने स्मार्ट घडीका लागि परीक्षण गरिरहेको छ । त्यसैगरी वालस्ट्रीट जर्नलका अनुसार यस प्रकारको डिभाइसका वारेमा निकै चर्चा भैरहेको छ, जसलाई एप्पलले आफ्नो म्यानुफ्याक्चरिङ पार्टनर फक्सकनसित मिलेर निर्माण गरिरहेको छ । यद्यपि एप्पलमात्र यस प्रकारका घडी निर्माण गर्न लागिपरेको छैन । यो वर्ष अन्य कम्पनीका पनि स्मार्ट घडी बजारमा आउने अनुमान गरिएको छ ।  केही समय अघि अमेरिकाको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा पनि पेबल नामक कम्पनीले यस्तै प्रकारको घडी प्रदर्शन गरेको थियो । यो पेबल स्मार्ट वाच आइफोन र एन्ड्रोइड फोनस“ग कनेक्ट भैरहनेछ । यसले पनि इमेल, टेक्स्ट म्यासेज वा वेदर एलर्टका वारेमा जानकारी दिने कलर आइडीका रुपमा काम गर्नेछ । त्यसैगरी जेफर्सन ग्राहमद्धारा विकसित गरिएको मार्सियन वाचले भ्वाइस कमान्डलाई सपोर्ट गर्छ । यसले म्यासेज पढ्न र भोकल एलर्ट्स सेन्ड गर्न सक्छ । यो वर्ष स्मार्ट वाचले प्रविधिमा फड्को मार्ने अनुमान गरिएको छ ।
केही दिन अघि छनोट भएका पोप फ्रान्सिसलाई संसारका प्रतिष्ठित पत्रिकाहरुले संसारकै पहिलो आइपोपको उपमा दिए । सन् २००८ मा निर्वाचित अघिल्ला पोपको स्वागत गरिदा जताततै मैनबत्तीको उज्यालो देखिएको थियो । तर यो पटक भने जताततै आइप्याड, क्यामेरा फोन र अन्य ट्याब्लेट देखिए । यसलाई प्रविधिको सागर नै भनियो । यति मात्र होइन, पोपले  ट्वीटर एकाउन्ट खोलेर त्यसैबाट ट्वीट समेत गरे । यसले गर्दा उनी पहिलो पटक ट्वीट गर्ने पोप पनि बने ।

एप्पलले सन् १९९८ मा पहिलो पटक आइम्याकलाई बजारमा ल्याएको थियो । त्यतिखेर नै म्याकको अगाडी भएको आइको अर्थ के हो भन्ने वारेमा धेरै छलफल भएका थिए । त्यतिखेर इन्टरनेटको प्रभाव बढ्दै गएकाले धेरैले यसको अर्थ ‘इन्टरनेट’ होला भन्ने अनुमान गरे । आइम्याक नाम राख्नमा एप्पलका संस्थापक स्टिभ जब्स र बिज्ञापन एजेन्सीका मालिक केन सिगलको भूमिका रहेको मानिन्छ । केन सिगलले त एउटा अन्तर्वार्तामा यो कुरा स्वीकारेका पनि छन् । सबै कुरा गर्न मिल्ने कम्प्युटर भएकाले यसको अर्थ ‘इन्टिग्रेटेड’ अर्थात ‘एकीकृत’ समेत भएको उनले बताएका छन् । त्यसैगरी सामान्य अनुमान गर्नेहरुले यसको अर्थ ‘इन्टिलिजेन्ट’ भएको बताए । कतिले यसको अर्थ ‘इन्डिभिज्युअल’ पनि भने । तर पनि एप्पलले आधिकारिक रुपमा कहिल्यै पनि यसको अर्थ यो हो भनेर प्रमाणित गरेको पाइदैन ।

तर त्यसपछिका नया“ उत्पादनहरुमा भने एप्पलले जहिले पनि आइ फुर्को लगाउने गरेको छ । आइपोड, आइफोन, आइप्याड आदि यसैका उदाहरण हुन् । केही समय अघि नै आइटिभी आउने चर्चा पनि चलेको छ । तर आइटिभीमा भने आइको अर्थ इन्टिग्रेटेड भनिएको छ । किनभने यसमा धेरै कुरा एकीकृत भएर आउनेछन् । यी वाहेक एप्पलले विकास गरेका सफ्टवेयर प्रोग्राम आइट्युन्स, आइकल, आइच्याट, आइसिङ्क, आइफोटो, आइमुभी, आइडिभिडी र आइवेब लगायतका सफ्टवेयर पनि विकास गरेको छ ।
यसले गर्दा एप्पलले आफुले विकास गर्ने सबै प्रविधिका अगाडी भविष्यमा पनि आइ फुर्को जोड्ने अनुमान गर्न सकिन्छ । भविष्यमा एप्पलले धेरै प्रकारका सामग्री उत्पादन गर्ला । तर पनि एप्पल बाहेक आइ फुर्को जोडिएका अन्य कम्पनीका उत्पादन पनि कम्ती लोकप्रिय भने छैनन् । हुन्डाई कम्पनीका कारहरुमा पनि आइ जोडिएको पाइन्छ । हुन्डाईले विकास गरेका कारहरुको नाम आइ टेन, आइ ट्वान्टी, आइ थर्टी आदि राखिएको छ । यसमा प्रयोग गरिएको आइको अर्थ इन्स्पिरेसन, इन्टिलिजेन्स र इन्टेग्रिटी भएको उल्लेख गरिएको छ । नेपालमा हुन्डाई गाडीको आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ म्यानेजर रुपेश शर्मा भट्ट पनि यो कुरा स्वीकार्छन् । हुन्डाईका यी गाडी सबैका लागि प्रेरक, बौद्धिक र एकीकृत गुणस्तरका भएको उनको तर्क छ । धेरै राम्रा विशेषताका कारण यी कारलाई विशेषतः ‘इन्टिलिजेन्स’ मान्न सकिने भट्ट बताउछन् ।

मारुती सुजुकीका गाडीको बाहिरतिर ‘माइ कार इज आई–क्याट्स प्रोटेक्टेड’ भनी लेखिएको पाइन्छ । यद्यपि यो पनि एउटा प्रबिधि हो । तर यो हामीले अनुमान गरे जस्तो इन्टरनेटस“ग सम्बन्धित प्रविधि भने होइन । मारुतीले आफ्नो गाडि चोरी हुनबाट बचाउन विकसित गरेको एन्टी–थेफ्ट सिस्टमलाई आई–क्याट सिस्टम भनिन्छ । यसको पुरा रुप चाहि ‘इन्टिलिजेन्ट कम्प्युटराइज्ड एन्टी थेफ्ट सिस्टम हो । यसमा आइको अर्थ इन्टिलिजेन्ट भनिएको छ । यो एउटा मल्टिप्लेक्स्ड कम्युनिकेसनको सिद्धान्त अनुरुप काम गर्ने प्रविधि हो । यसमा गाडिको साँचोमा भित्री बनावटको रुपमा एक प्रकारको प्रविधि हुन्छ, जसका कारण सही साचोले मात्र गाडीको इन्जिन स्टार्ट हुन्छ । त्यसैले ‘माइ कार इज आई–क्याट्स प्रोटेक्टेड’ भन्नाले गाडि चोरहरुलाई सावधान ! मेरो गाडि आई–क्याट प्रोटेक्टेड छ , तिमीले मेरो गाडि चोर्न सक्दैनौ भनेर सचेत गराएको बुझिन्छ ।

आइको प्रयोग यतिमा मात्र सीमित छ्रैन । ल्यापटपको प्रोसेसरको स्पिडलाई पनि आइ फाइभ, आइ सिक्स आदि गरी विभाजन गरिएको छ । त्यसैगरी नेपालमा कतिपय मनोरञ्जन स्थलको नाम समेत आइक्लब राखिएको पाइन्छ । यसरी आइ फुर्को जोडिएका नाम त संसारमा धेरै होलान् ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष विनोद ढकाल मोबाइल प्रविधिमा आइ शब्दको प्रयोग निकै नै प्रभावकारी भएको बताउछन् । खासगरी एप्पलले यो शब्दलाई निकै नै लोकप्रिय बनाएको छ । कम्प्युटर प्रविधिमा भने इको बढी प्रयोग भएको छ । यहाँ भने इको अर्थ इलेक्ट्रोनिक्स हो । नेपालमै पनि इ–गभर्नेन्स, इ–डेमोक्रेसी, इ–नेपाल जस्ता शब्द लोकप्रिय रहेका छन् । नेपाललाई इ–नेपालमा रुपान्तरण गर्ने सपना पनि चर्चामा आउछन् । अहिले इ–नेपालको अवधारणाले बजार तताएको छ । इ–नेपालमा सबै कुरा इन्टरनेटस“ग जोडिन्छन् । इ–गभर्नेन्स, इ–कमर्स, इ–एजुकेसन, इ–टुरिज्म आदिको एकीकृत रुप नै इ–नेपाल हो । सुचना प्रविधिको माध्यमवाट यी सबै क्षेत्रको सेवा सहज ढंगवाट प्राप्त गर्नु नै इ–नेपालको अवधारणा हो ।

हामी इकारको पनि कुरा गर्न सक्छौं । बिद्युतबाट चल्ने र मालिकको इशारा अनुसार चल्ने गाडी निर्माण हुने क्रम चलिरहेको छ । यस्ता गाडीले एक अर्को गाडीमा आफै सम्पर्क गर्न सक्छन् । उनिहरु मालिकको कम्प्युटर, फोन र अन्य विभिन्न प्रकारका डिभाइसस“ग सम्पर्क गर्न सक्छन् । उनिहरु अर्को गाडीको ड्राइभरस“ग सम्पर्क गर्न र सडकमा हिडिरहेका बटुवालाई समेत सुरक्षित राख्न सफल हुन्छन् ।
गुगलले यस्तै प्रकारको गाडी चलाउने प्रविधिको विकास गरेको छ । गुगलले विकास गरेको यो प्रविधि प्रयोग गरिएको कारलाई गुगल कार भनिएको छ । गुगल कार भनिए पनि वास्तवमा यो कारमा प्रयोग गरिएको एउटा प्रविधि हो । यसलाई गुगलको ‘ड्राइभरलेस टेक्नोलोजी’ समेत भनिन्छ । यस प्रकारको कार चलाउनका लागि अमेरिकाको नेभादा राज्यले स्वीकृती समेत दिएको छ । नेभादा अब विश्वमै पहिलो पटक गुगल कार चलाउनका लागि स्वीकृती दिएको सहरका रुपमा समेत परिचित बनेको छ । गुगलले यो प्रविधिलाई पहिले देखि नै परीक्षण गरिरहेको थियो । गुगलले यो प्रविधि टोयोटाको ६ वटा प्रियस, एउटा औडी र एउटा लेक्सस कम्पनीका गाडीमा राखेर परीक्षण गरेको हो ।  अन्य गाडी पनि अब विस्तारै सडकमा देख्न सकिनेछ । तर गाडीमा जहिले पनि कमसेकम दुई व्यक्ति हुनु पर्ने नियम छ । दुई मध्ये एकले गाडी वाहिरको वातावरणलाई निरीक्षण गर्नेछ भने अर्कोले कम्प्युटरको स्क्रिनलाई अनुगमन गर्नेछ । यसले गर्दा आवश्यक रुट र सम्भावित खतराका वारेमा पहिचान गर्न सकिन्छ ।

खासगरी एप्पलले आइ शब्दलाई लोकप्रिय बनाएको हो । तर उसका सबै उत्पादनका अगाडी सानो अक्षरमा आइ जोडिएको पाइन्छ । त्यसैले नै यसले आइप्याड, आइपोड, आइफोन आदि बजारमा ल्याइसक्यो । यी उत्पादन लोकप्रिय पनि भए । भविष्यमा कति उत्पादनका अगाडी आइ थपिने हुन्, त्यो भने भविष्यले नै बताउला । तर पनि यी सबै विवरणका आधारमा भविष्यमा आइफोन, आइकार आदिको प्रयोग निकै नै बढ्ने अनुमान भने गर्न सकिन्छ ।

सम्पादन सहित        कान्तिपुरमा प्रकाशित

http://ekantipur.com/kantipur/news/news-detail.php?news_id=293293

No comments:

Post a Comment