Saturday, May 11, 2013

प्रयोगमा गुगल ग्लास

- एकराज सुवेदी

लामो समयको चर्चासँगै गुगल ग्लास प्रयोगमा आएको छ । तर यो बजारमा भने आइसकेको छैन । यसको अर्थ गुगल ग्लासको प्रयोग केही ब्यक्तिले गर्न थालेका छन् । गुगल ग्लासलाई एक प्रकारको चश्मा भन्न सकिन्छ । तर यो हेर्नका लागि प्रयोग गरिने चश्मा भने होइन । यसलाई बरु एक प्रकारको स्मार्टफोन भन्न सकिन्छ किनकी यसले स्मार्टफोनले जस्तै काम गर्छ । तर यसको डिस्प्ले स्त्रिmनमा औलाले छुन पर्दैन । यसले भ्वाइस कमान्डका आधारमा काम गर्नेछ । इमेल चलाउन, तस्बिर खिच्न, सोसियल नेटवर्किङ साइट चलाउन आदि सबै कार्यका लागि बोलेर कमान्ड दिदा सबै काम सम्पन्न हुनेछन् ।

गत हप्ता गुगलले औपचारिक रुपमा आफ्नो गुगल ग्लासका बारेमा जानकारी दियो । त्यसैगरी यसले केही उपभोक्तालाई गुगल ग्लास परीक्षणका रुपमा उपलब्ध पनि गरायो । यी गुगल ग्लास भने सबैले प्रयोग गर्न पाउने छैनन् । जसले पाएका छन्, तिनीहरुलाई एक प्रकारले भाग्यमानी मान्नुपर्ने भएको छ । एप्पलको आइफोनका विभिन्न भर्सन बजारमा आउदा मानिसहरु घण्टौ लाइनमा बस्नुपरेका घटना हुन्थे । सायद यही कुरालाई दृष्टिगत गरेर होला, गुगलले भने यसका लागि अर्कै प्रक्रिया अपनाएको छ ।

गुगलले आफ्नो गुगल ग्लास प्राप्त गर्नका लागि पहिलो समूहमा ८ हजार ब्यक्तिहरुको छनोट गरेको छ । टि्वटर वा गुगल प्लस मार्फत दिएको निवेदनका आधारमा यी ब्यक्तिहरुको छनोट गरिएको हो । अमेरिकामै बसोबास गरिरहेका ब्यक्तिहरुले यस्तो निवेदन दिन सक्थे । निवेदनमा उनीहरुले यो प्रविधिको प्रयोग कसरी गर्नेछन् भन्ने वारेमा ५० शब्दमा उल्लेख गर्नुपथ्र्यो । अब त्यस्ता ब्यक्तिहरुको नाम पनि घोषणा हुन थालेको छ । उनीहरुले १ हजार ५ सय डलरमा गुगल ग्लास प्राप्त गर्नेछन् । तर यसका लागि उनीहरु न्युयोर्क, लस एन्जेलस वा सानप|mान्सिस्को जानुपर्नेछ । तर सर्बसाधारणका लागि भने गुगल ग्लास यो बर्षको अन्त्य वा अर्को बर्षको प्रारम्भतिर मात्र उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यद्यपि गुगल ग्लास प्राप्त गरेका कतिपय ब्यक्तिले यसलाई अन्य ब्यक्तिमा बेच्ने डर पनि हुन्थ्यो । गुगलले यही कुरालाई दृष्टिगत गरेर यो कार्य गर्न प्रतिबन्ध लगाएको सूचना नै निकालेको छ । यदि त्यसो गरिएमा गुगल ग्लासलाई डिएक्टिभेट गर्नुका साथै वारेन्टी, सहयोग वा फिर्ता जस्ता बिक्री पछिको कुनै पनि सेवा उपलब्ध नगराइने समेत बताएको छ । यद्यपि यो प्रयोगकर्ताको गुगल एकाउन्टका आधारमा एक्टिभ गरिएको हुन्छ । अर्को ब्यक्तिलाई दिदा यसलाई प्रयोग गर्न सकिदैन ।

मानिसले स्मार्टफोनमा औलाले तलमाथि सारेर इमेल, अनलाइन सोसियल नेटवर्क तथा अन्य विभिन्न क्रियाकलाप गर्नुका साटो गुगल ग्लासको प्रविधि प्रयोग गरी सजिलैसित यी सबै कार्य  गर्न सक्नेछन् । यसमा ५ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसले ७ सय २० पिक्सेलसम्मको भिडियो खिच्न सक्नेछ । यसले दाहिने आखातिरको सीसाको माथितिर रहेको रिममा सानो डिस्प्ले स्त्रिmन जोडिएको छ । यो मोबाइल डिभाइसमा प्रयोग गरिने गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका आधारमा चल्नेछ । गुगलले यसमा हाइ रिजोल्युसन डिस्प्ले भएको दाबी गरेको छ । यसलाई ८ फिट टाढाबाट २५ इन्च बराबरको हाई डिफिनिसन स्त्रिmन बराबर भएको बताइन्छ ।

गुगल ग्लासलाई प्रयोगमा ल्याउनका लागि दुईवटा कनेक्टिभिटी अप्सन छन् । यसलाई वाइफाइ तथा ब्लुटुथ दुबै कनेक्टिभिटी प्रयोग गरी जोड्न सकिन्छ । तर यसका लागि माइ वेब नामक एप प्रयोग गर्नुपर्नेछ । यो एन्ड्रोइड ४.०.३ अर्थात आइसक्रिम स्यान्डविच भर्सनमा संचालित हुनेछ । गुगलले यसको ब्याट्री लाइफ पनि लामो भएको दाबी गरेको छ । यसलाई लगातार प्रयोग गरिरहदा पनि दिनभर प्रयोगमा ल्याउन सकिन्छ । यद्यपि ह्याङआउट र भिडियो रेकर्डिङ टुल प्रयोग गर्दा भने अलि बढी ब्याट्री खपत हुने बताइएको छ ।
गुगल ग्लासमा एड्जस्टेबल नोजप्याड र ड्युरेबल प|mेम रहेको छ । यसले गर्दा यो जस्तोसुकै अनुहार भएकाहरुका लागि पनि उपयुक्त हुन्छ । यो बाहेक गुगलले दुई साइजका थप नोजप्याड पनि उपलब्ध गराउनेछ । यसमा गुगलले 'बोन कन्डक्सन ट्रान्सड्युसर नामक नयाँ प्रबिधिको पनि प्रयोग गरेको छ । यो प्रविधिको प्रयोगले कुनै पनि आवाज प्रयोगकर्ताको कानमा सीधै पुग्छ । यसका लागि इयरफोन वा हेडफोन लगाइरहनु पर्ने झन्झट हुनेछैन । गुगल ग्लासलाई चार्ज गर्नका लागि छुट्टै माइक्रो युएसबी केबुल र चार्जर उपलब्ध हुनेछ । बजारमा भएका प्रशस्तै माइक्रो युएसबी चार्जर पनि प्रयोग गर्न सकिन्थ्यो । तर गुगल ग्लासको प्रयोग लामो समयसम्म गर्न सकियोस् भन्ने उद्येश्यले आफ्नै चार्जरको निर्माण गरेको बताएको छ । गुगल ग्लासमा १२ जिबीको मेमोरी प्रयोग गर्न सकिन्छ । यसमा गुगल क्लाउड स्टोरेज समेत रहेको छ । सबै गरी यसमा १६ जिबी फ्ल्यास प्रयोग गर्न सकिने गुगलले बताएको छ ।

गुगलले अहिले यसलाई टेस्ट वा एक्स्प्लोरर भर्सनको गुगल ग्लास भनेको छ । अहिले नै यसका वारेमा विभिन्न नकारात्मक टिप्पणी पनि हुन थालेका छन् । कसैले गुगल ग्लास लगाएर जुनसुकै स्थानको तस्बिर वा भिडीयो खिच्दा कसैको ब्यक्तिगत जीवनमा असर पुर्याउन पनि सक्छ । गुगलले अहिले यो एक्स्प्लोरर भर्सन भएकाले गुगलका इन्जिनियरहरुले यसलाई आगामी दिनमा अझै सुधार्ने समेत बताएको छ । हेरौ, यो कति परिमार्जित वा प्रभावकारी हुन्छ ।

तर पनि गुगल ग्लासको प्रबेशसँगै एउटा नयाँ बहसको थालनी भएको छ । बिश्वमा स्मार्टफोन पश्चात अब 'वेरेबल टेक्नोलाजी' अर्थात शरीरमा लगाउने प्रविधिले प्रबेश गर्ने सम्भावना देखिएको छ । एप्पल र सामसुङले हातमा पहिरिने घडी अर्थात स्मार्ट वाचको विकास गरिरहेको समाचार पहिले नै आएका हुन् । अब गुगलले आखामा लगाउने ग्लासको विकास गर्यो । अन्य साना कम्पनीहरुले पनि शरीरका विभिन्न भागमा लगाएर प्रयोग गर्न सकिने प्रविधिको बिकास गरिरहेका छन् । यो अवस्थामा अहिले चल्तीमा रहेका स्मार्टफोनको बहारमा परिवर्तन नआउला भन्न भने सकिदैन ।
                                                                     -एजेन्सीको सहयोगमा)
कान्तिपुरको हेलो शुक्रबारमा प्रकाशित

No comments:

Post a Comment