Wednesday, May 8, 2013

ह्याप्पी बर्थडे ट्विटर


- एकराज सुवेदी
माक्रोब्लगिङ साइटका रूपमा परिचित ट्विटर सात वर्षको भएको छ। सन् २००६ को मार्च २१ का दिन अमेरिकी वेब डेभलपर ज्याक डोर्सेले पहिलो ट्विट गरेका थिए। उनले 'जस्ट सेटिङ माइ टुटर' लेखेर यसको सुरुवात गरेका थिए। त्यसैले यो दिनलाई ट्विटरको जन्म दिन मानिन्छ। सात वर्षपछि अहिले आएर यसका २० करोड सक्रिय सदस्य छन् भने प्रतिदिन ४० करोड ट्विट गरिन्छन्। ट्विटरका संस्थापक ज्याक डोर्से, इभान विलियम्स तथा बिज स्टोनलाई मानिन्छ।
अहिले ट्विटर संसारकै एक चौतारीका रूपमा परिचित छ। यो एउटा सार्वजनिक स्थल भएको छ, जहाँ ताजा समाचार सुनाउन, विचार आदानप्रदान गर्न र एक क्लिकका भरमा संसारभरका मानिसहरूसँग तत्काल सम्पर्क गर्न सकिन्छ।

ट्विटर स्थापना हुँदा यसको होमपेज अहिलेभन्दा निकै फरक थियो। ट्विटरको स्पेलिङसमेत अहिलेभन्दा फरक थियो। ट्विटरको स्पेलिङमा टीडब्ल्युटीटीआर मात्र थियो। टेक्स्ट म्यासेज पठाउन सजिलो हुने साइटको पहिचानका लागि यसको उच्चारण पनि टुटर भन्न खोजिएको थियो। त्यसैले स्पेलिङ पनि त्यहीअनुसार राखिएको थियो। सेतो ब्याकग्राउन्डमा असुहाउँदो हरियो अक्षरको लोगो थियो। त्यसको तलतिर केही सन्देश पनि लेखिएको थियो। अहिले टीडब्ल्युआईटीटीइआरसहित चराको लोगो प्रयोग गरिएको छ। त्यसको तल पहिले जस्तो केही लेखिएको पनि पाइँदैन। 

ट्विटरले सूचनाको नेटवर्कका रूपमा पहिचान बनाएको छ। ट्विटरले भिडियो सेयरिङ, फोटो ग्यालरीका साथ आफ्नो प्रोफाइल पेजलाई अझ परिष्कृत गरेको छ, जसले गर्दा युजरले आफ्ना बारेमा संसारलाई धेरै भन्दा धेरै जानकारी दिन सक्छन्। नयाँ ट्विटरमा रि-ट्विट, फ्लोविङ तथा फेबरेटिङको कनेक्सन छ, यसका लागि डिस्कभर सेक्सनमा जानुपर्छ।  

ट्विटरको होमपेजमा भिडियो तथा पूरा न्युज स्टोरीलाई एउटै स्थानमा देख्न सकिन्छ। यसमा विभिन्न प्रकारका सूचना वा समाचार तीव्र गतिमा देख्न सकिन्छ। ट्विटर प्रयोगकर्ताका लागि आफ्नो युजर नेम नै सबैभन्दा ठूलो पहिचान भएको छ। प्रयोगकर्ताले आफ्नो ट्विटसँग जोडिएका सबै कुरालाई सहज रूपमा हेर्न सक्छन्। प्रयोगकर्ताको ट्विटका बारेमा अन्य व्यक्तिले कस्तो प्रतिक्रिया जनाएका छन् रु कसले फलो गरिरहेका छन् ? कसले रि-ट्विट गरिरहेको छ रु वा कसले लाइक गरेको छ रु यी सबै कुरा थाहा पाउन सकिन्छ। यसको डिस्कभर पेज पनि आकर्षक छ। कुनै पनि विषय सर्च गर्दा यसका बारेमा जोडिएका सम्पूर्ण सूचना प्रशस्त रूपमा पाउन सकिन्छ। 

ट्विटरको प्रोफाइल पेजमा प्रयोगकर्ताले आफ्ना बारेमा उल्लेख गर्न मन लागेका जुनसुकै कुरा पनि राम्रोसँग उल्लेख गर्न सक्छन्। यसमा भएको ट्विट बटनकै सहायताले आफ्ना सन्देश सबैका सामु पुर्‍याउन सकिन्छ। आफ्नो मोबाइल वा डेस्कटप कम्प्युटरको सहायताले ट्विटरमा भिडियो तथा न्युज स्टोरी लिंक गर्न सकिन्छ। 

सात वर्षमा ट्विटरले निकै महत्वपूर्ण भूमिका खेलेको छ। यसै सन्दर्भमा न्युयोर्क डेली न्युजले यो अवधिका सात महत्वपूर्ण ट्विटर घटनालाई प्रस्तुत गरेको छ। पहिलो पटक गरिएको ट्विटलाई नै पहिलो महत्वपूर्ण घटना मानिएको छ। सन् २००९ को जून १३ मा इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजादले निर्वाचन जितेको घोषणा भएपछि त्यसको निष्पक्षताको विषयमा विभिन्न प्रकारका ट्विट गरिए। त्यसपछि सडकमा प्रदर्शन गर्ने क्रम जारी रह्यो। यसलाई पहिले हरित क्रान्ति र पछि ट्विटर क्रान्ति भनियो। सन् २००९ को प्रमुख ५ ट्विटर घटनामा इरान रिभोल्युसन र इरान थिए। यही प्रदर्शन नै अरब क्रान्तिको आधारसमेत बन्यो। 

त्यसैगरी सन् २०१० को जनवरी १२ मा हैटीमा ७ रेक्टर स्केलको भूकम्प जाँदा सम्पूर्ण सञ्चारका साधन क्षतिग्रस्त बने। उक्त अवस्थामा पत्रकारहरूले आफ्नो मोबाइल नेटवर्क प्रयोग गरी ट्विटर म्यासेज र फोटोहरू पोस्ट गरे, जसले गर्दा अमेरिकी सेना र अन्य सहायता समूहले औषधी एवं अन्य सहयोग सामग्री निश्चित स्थानमा पठाउन सके। यसलाई ट्विटरको इतिहासमा तेस्रो महत्त्वपूर्ण घटना मानिएको छ। 

सन् २०११ मे १ का दिन पाकिस्तानका ३३ वषर्ीय आईटी कन्सल्टेन्ट सोहेब अथरले ओसामा बिन लादेन हवाई हमलामा मारिएको कुरा ट्विट गरेर संसारका सञ्चारमाध्यमको ध्यान आकृष्ट गरे। अहिले प्रसिद्ध भएको उनको ट्विट यस्तो थियो, ुहेलिकप्टर होभरिङ एबोभ एबोट्टाबाद एट वान एएम (इज अ रेयर इभेन्ट०। उनको यो ट्विट आफैंमा रहस्यमय थियो। उक्त क्षेत्रमा हेलिकप्टर उड्नु शंकास्पद नै थियो। फेरि अमेरिकी सेनाले आधिकारिक जानकारी दिन पनि लामो समय लगायो, जसले गर्दा अथरको यो ट्विट छोटो समयमै निकै फैलियो अर्थात् भाइरल बन्यो। पछि लादेन मारिएको कुरा प्रमाणित भएपछि त झन् उनी र उनको यो ट्विट निकै लोकप्रिय भयो। 

सन् २०११ को मार्च ११ मा जापानमा ९ रेक्टर स्केलको भूकम्प गयो, जसमा कमसेकम १५ हजार ८ सय ८२ मानिसको मृत्यु भयो। हजारौं घाइते भए। करोडौं डलर धनराशिको क्षति भयो। उक्त अवस्थामा पनि ट्विटरको प्रयोग निकै भयो। त्यस्तो अवस्थामा विभिन्न जानकारी लिन र शोक प्रकट गर्न फेरि पनि ट्विटरकै प्रयोग भयो। जापानी भूकम्पका सम्बन्धमा प्रतिसेकेन्ड ५ हजारभन्दा बढी ट्विटले आफैंमा रेकर्ड कायम गरे।

सन् २०१२ मा अमेरिकामा राष्ट्रपति निर्वाचन भयो, जसको नतिजाको घोषणा पनि गरियो। नोभेम्बर ६ मा ३ करोडभन्दा बढी ट्विट गरिए, तर पनि एउटा ट्विट निकै लोकप्रिय भयो। राष्ट्रपति ओबामाले ुफोर मोर इयर्सु लेखेर श्रीमती ओबामालाई अँगालो हालेको तस्बिर राखिएको ट्विट निकै लोकप्रिय भयो। उक्त ट्विट नै ट्विटरको इतिहासमै सर्बाधिक धेरैपटक रि(ट्विट गरिएको म्यासेज बन्यो। 

केही दिनपहिले अर्थात् मार्च १३ मा नयाँ पोपका रूपमा पोप फ्रान्सिस निर्वाचित भए। उक्त समाचारलाई प्रतिसेकेन्ड १ लाख ३० हजारका दरले ट्विट गरियो। त्यसैगरी नयाँ पोपले पनि ट्विटर एकाउन्ट खोलेर सबैलाई धन्यवाद दिए र आफू अनुयायीहरूसँग ट्विटरका माध्यमबाट पनि निरन्तर सम्पर्कमा रहने जानकारी दिए।

साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment