Monday, July 22, 2013

सर्च होइन, स्मार्ट सर्च

हामी गुगलमा विभिन्न विषयका वारेमा खोजी गर्छौ । यसलाई गुगल सर्च भनिन्छ । कतिपयले सजिलोका लागि यसलाई गुगल गर्ने पनि भन्छन् । गुगलको लोकप्रियताले गर्दा यसको नाम नै विभिन्न शब्दले पुकारिन्छ । भनिन्छ, यसमा जे खोज्दा पनि पाइन्छ । यसको अर्थ जुन विषयवस्तुका वारेमा पनि यसमा खोजी गर्न सकिन्छ । हामीलाई ब्यावहारिक रुपमा काम लाग्ने कतिपय कुरा पनि यसमा खोजी अर्थात सर्च गर्न सकिन्छ ।


गुगल सर्च आफैमा एउटा कला पनि हो । हामीले सर्च गर्न पनि जान्नु आवश्यक छ । अनावश्यक रुपमा लामो शब्द लेखेर सर्च गर्दा धेरै बिषयवस्तु एकै पटक लामो सूचीका रुपमा आउछन् र फेरि सही विषयवस्तु छनोट गर्न गाहे हुन्छ । त्यसैले सही विषयवस्तु छनोट गर्नका लागि सही शब्द चयन गरी सर्च गर्नुपर्छ । यसलाई स्मार्ट सर्च पनि भनिन्छ । धेरै मानिसले गुगलमा सर्च गर्छन्, तर कम मानिस मात्र हुन्छन् जसले स्मार्ट सर्च गर्छन् । स्मार्ट सर्चका कारण आवश्यक विषयवस्तुका वारेमा सटिक जानकारी पाइन्छ । जानकारीको प्रस्तुतिका कारण आवश्यक विषयवस्तु सहजताका साथ सम्झिन सजिलो पनि हुन्छ । जानकारी पाउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता पनि हुदैन । त्यसैले स्मार्ट सर्च गर्ने तरिका थाहा पाउनु आवश्यक छ ।

हामीले मौसमका वारेमा थाहा पाउन रेडियो, टिभी वा अन्य कुनै एप्सको प्रयोग गरिरहेका हुन्छौ । तर के तपाइलाई थाहा छ ? गुगलबाट पनि आफ्नो सहरको मौसमका वारेमा जानकारी पाउन सकिन्छ । जस्तै ः काठमाडौंको मौसमका वारेमा थाहा पाउनु पर्यो भने छुट्टै वेदर वेबसाइट खोज्नु आवश्यक छैन । गुगलको सर्च बारमा अंग्रेजी स्पेलिङमा वेदर लेखेर त्यसपछि काठमाडौं लेखेर इन्टर गर्दा काठमाडौंको मौसम र यसको भविष्यवाणीका वारेमा समेत थाहा पाउन सकिन्छ । त्यसैगरी नेपाल र विश्वका अन्य विभिन्न सहरका वारेमा जानकारी थाहा पाउन मन लाग्यो भने पनि वेदर पछि सहरको नाम लेखी सर्च गर्न सकिन्छ । यो अवस्थामा मौसमको जानकारी आवश्यक फिगरका साथ उपलब्ध हुन्छ ।

केही हिसाब गर्नु छ ? क्यालकुलेटर चाहियो ? यसका लागि पनि छुट्टै क्यालकुलेटर खोज्नु पर्दैन । यसका लागि पनि सर्च बारमा क्यालकुलेटर लेखी इन्टर गर्न सकिन्छ । स्क्रिनमा एउटा क्यालकुलेटर तुरुन्त आउछ । त्यसपछि आफुलाई आवश्यक हिसाबका लागि यसको प्रयोग गर्न सकिन्छ । चलचित्र हेर्न फिल्महल जान मन लाग्यो ? कुन चलचित्र चलेको छ थाहा पाउन मन लाग्यो ? यसको पनि बिकल्प छ । गुगलमै सबै कुरा देखिन्छ । यसका लागि पनि मुभी लेखेर फिल्महलको नाम लेखी सर्च गर्न सकिन्छ । तुरुन्त थाहा हुन्छ । क्युएफएक्स वा जय नेपालको हलमा के लागेको छ थाहा पाउन मन लाग्यो भने सर्च बारमा मुभी लेखेर क्युएफएक्स वा जय नेपाल लेख्दा सबै थाहा हुन्छ । यो बाहेक काठमाडौंका कुन हलमा कुन चलचित्र लागेको छ, थाहा पाउन मन लाग्यो भने मुभी पछि काठमाडौं लेखेमा शुरुमै सबै कुरा देखिन्छ । तर नेपालको सन्दर्भमा यो अलि ब्यवस्थित तरिकाले राखिएको छैन । अन्य देश, जस्तै भारतको दिल्लीमा यी सबै सूची रमाइलो तरिकाले प्रस्तुत गरिएको देखिन्छ ।

कतै यात्रामा जानु छ र फ्लाइटको वारेमा जान्नु छ भने पनि गुगल नै काम लाग्न सक्छ । यसका लागि गुगलमा छुट्टै एयरलाइन्सको वेबसाइट खोज्नु आवश्यक छैन । यसका लागि सर्च बारमा फ्लाइट वा एयरलाइन्सको नाम मात्र राख्दा पनि धेरै कुरा थाहा हुन्छ । जस्तै ः बुद्ध एयरको वारेमा थाहा पाउन मन लाग्यो भने बुद्ध एयरलाइन्स राखेर सर्च गर्न सकिन्छ । त्यसपछि फ्लाइटका वारेमा सबै जानकारी पाउन सकिन्छ ।

कुनै स्थानमा पुगियो र पैसाको आवश्यकता पर्यो । आफुसित एटिएम कार्ड छ । तर एटिएम काउन्टर कता छ भन्ने कुरा थाहा भएन भने पनि गुगलले सहयोग गर्न सक्छ । यो अवस्थामा एटिएम लेखी स्थानको नाम लेख्न सकिन्छ । जस्तै ः एटिएम काठमाडौं लेखियो भने काठमाडौंको एटिएम भएको सबै स्थानको नक्सा सहितको जानकारी आउछ । त्यसपछि आफु रहेको स्थानको कुन ठाउमा एटिएम छ भन्ने कुरा सजिलै थाहा पाइन्छ । यसमा भएको गुगल म्यापले यसमा सहयोग पुर्याउछ । यति मात्र होइन, रेष्टुरेन्ट वा होटलको खोजीमा पनि यसले मदत पुर्याउछ । तपाइलाई कस्तो खाले रेष्टुरेन्ट चाहियो ? चाइनिज वा इन्डियन परिकार पाइने ? यी सबै कुरा गुगलमै खोज्न सकिन्छ । चाइनिज फुड काठमाडौ लेखेर सर्च गर्दा काठमाडौंमा चाइनिज फुड पाइने विभिन्न स्थानको लिस्ट देखिन्छ । चाइनिज रेष्टुरेन्टका रुपमा परिचित ‘टियान रुई रेष्टुरा“’ सहितको नक्सा पनि देखिन्छ । कुन स्थानमा छ, त्यसको दूरी र फोन नम्बर समेत उपलब्ध छ ।

नेपालको जिडिपी वा जनसंख्याका वारेमा जान्नु परेमा पनि नेपाल पछि जिडिपी वा पपुलेसन लेखेमा विभिन्न तथ्यांक सजिलै पाउन सकिन्छ । त्यसैगरी यस्ता विभिन्न ब्यावहारिक विषयवस्तुको जानकारी सहजै पाइन्छ ।

गुगल हाम्रो दैनिकीका लागि समेत अत्यावश्यक साइट बनिसकेको छ । तर हामीले कतिपय अवस्थामा यसको सहज प्रयोग गर्न सकेका छैनौ । यी त केही उदाहरण मात्र  हुन् । यसको प्रयोजन धेरै नै छ । हामीलाई थाहा छ गुगल वास्तबमा सर्चकै लागि बनेको हो । तर सर्च गर्ने तरिका भने थाहा पाउनु आवश्यक छ । त्यसैले सर्च होइन, स्मार्ट सर्च गर्न सिक्नु आवश्यक छ ।

http://www.ekantipur.com/saptahik/article/?id=11355

No comments:

Post a Comment