Sunday, July 20, 2014

फिफा पछि अब रोबोकप

फुटबलको महाकुम्भ बिश्वकप समाप्त भएको छ । तर बिश्वकप सम्पन्न भएकै राष्ट्र ब्राजिलमा त्यही स्टाइलमा अर्को बिश्वकप फेरि प्रारम्भ भएको छ । तर उक्त बिश्वकपमा मानिस भने खेल्ने छैनन् । बरु मानिसको सट्टामा रोबोटका वीचमा फुटबल हुदैछ । रोबोकप २०१४ नाम दिइएको उक्त खेल भोलिबाट प्रारम्भ भई ६ दिनसम्म चल्नेछ । बिश्वका विभिन्न ४५ राष्ट्रका ४ हजार इन्जिनियर र बैज्ञानिकहरु उक्त खेलमा प्रत्यक्ष संलग्न हुदैछन्, जसले निर्माण गरेका रोबोटका वीचमा फुटबल खेल हुनेछ । उक्त खेलमा स्वतन्त्र तथा रिमोट–फ्रि रोबोटले वास्तबिक फुटबल खेल्दाकै नियममा आधारित रहेर फुटबल खेल खेल्नेछन् । खेलमा अनियमितता नहोस् भन्ने उद्देश्यले मानिस र रोबोट दुवैले रेफ्रिको भूमिका निभाउनेछन् ।

यस्तो रोबोट फुटबल टिम, जसमा खेलाडीका रुपमा २ देखि ४ फुट लम्बाइ भएका धातुका रोबोट हुनेछन् । ब्राजिल, अमेरिका, जर्मनी जस्ता देशका विभिन्न विश्वविद्यालय तथा संस्थानका विभिन्न ब्यक्तित्वहरु यसमा सम्मिलित हुन्छन् । फुटबल खेलकै जस्तो सबै नियम यसमा लागु हुन्छन् । रोबोकप प्रत्येक बर्ष विभिन्न देशमा आयोजना हुन्छ । फिफा बिश्वकप हुने बर्ष भने त्यही देशमा आयोजना हुन्छ । त्यसै ले नै यो बर्ष ब्राजिलमै हुन थालेको हो । सन् २०१३ मा भएको रोबोकप अन्तर्गत एडल्ट क्याटागोरीमा जापान र एडोल्सेन्ट क्याटागोरीमा जर्मनी विजयी भएका थिए ।

पहिलो रोबोकप सन् १९९७ मा जापानको नागोयामा भएको थियो । त्यतिखेर बुद्धिचालका तत्कालिन बिश्व च्याम्पियन गेरी कास्पोरोभ र आईबीएमको सुपर कम्प्युटर डीप ब्लुका वीचमा बुद्धिचाल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता डीप ब्लुले जितेको थियो । त्यही समयमै रोबोकपको आयोजना गर्ने विचारले मुर्तरुप लिएको थियो  । त्यसपछि नै यसको लोकप्रियता चुलिदो छ । प्रत्येक बर्ष शिर्ष अनुसन्धाताहरु रोबोट प्रविधिमा भएको विकास अवलोकन गर्नका लागि यस प्रकारको रोबोकपमा सहभागी हुन्छन् । विजेता टिमले विशेष प्रकारले डिजाइन गरिएको कर्भ क्रिस्टल ट्रफी प्राप्त गर्छन् ।

रोबोकप रोबोटहरुको एक प्रकारको कुम्भ मेला पनि हो । रोबोटहरुका वीचमा फुटबल बाहेक अन्य विभिन्न प्रकारका प्रतियोगिता, वर्कशप र एकेडेमिक पेपर प्रस्तुति पनि हुन्छ । रोबोटमा पनि नया“ नया“ प्रविधिको विकास भैरहेको छ । कुनै दिन फिफा बिश्वकप जितेको मानिसको टिम र रोबोकप जितेको रोबोटको टिमका वीचमा पनि फुटबल खेल हुने अनुमान गर्न सकिन्छ । सन् २०५० सम्म यो दृश्य देख्न पाइने धेरैको अनुमान छ ।

सोसल मिडियामा बिश्वकप रेकर्ड
ब्राजिलमा सम्पन्न बिश्वकप विविध कारणले चर्चामा रह्यो । खासगरी टेलिभिजन वा अन्य माध्यमबाट प्रत्यक्ष प्रसारण हेरेर खेलको बारेमा चर्चा गर्ने क्रम निकै नै चुलियो । फुटबल आयोजक आधिकारिक संस्था फिफाले यस्ता विभिन्न प्लेटफर्मलाई फिफा ग्लोबल स्टेडियम नामाकरण गरेको पाइयो । फिफाको उक्त ग्लोबल स्टेडियमलाई बिश्वभरका खेलप्रेमी, खेलाडी, प्रशिक्षक तथा सेलिब्रेटीहरुले सामाजिक सञ्जाल, अनलाइन र मोबाइल हब बनाएका थिए । यस अवधिमा फिफाको आधिकारिक एप २ करोड ८० लाख पटक डाउनलोड गरियो । त्यसैगरी ४५ करोड १० लाख फेसबुक प्रयोगकर्ता फिफाको सामाजिक सञ्जालमा जोडिन पुगे । फिफाको ट्वीटर फलोअरको संख्या पनि १ करोड ६० लाख भन्दा बढी पुगे । फिफाका अध्यक्ष सेप ब्लाटरले समेत यो बिश्वकप वास्तवमै सामाजिक सञ्जाल र मोबाइल बिश्वकप बनेको प्रतिक्रिया दिएका छन् ।

यस पटकको बिश्वकपको फाइनलमा जर्मनीको एक गोलले बिश्वकप दिलायो । फाइनलको त्यही एक गोलकै कारण फेसबुक र ट्वीटरमा अहिले सम्मकै सर्वाधिक बढी पोस्टको अवसर दिलायो ।
ट्वीटरका अनुसार जर्मनी र स्वीट्जरल्यान्ड वीचमा भएको उक्त १–० अन्तरको खेलमा प्रति मिनेट ६ लाख १८ हजार ७ सय २५ ट्वीट गरिए, जबकि जर्मनी र ब्राजिलका वीचमा भएको ७–१ अन्तरको सेमी फाइनल खेलमा प्रतिमिनेट ५ लाख ८० हजार १ सय ६६ ट्वीट गरिएका थिए । समग्रमा खेलको प्रत्यक्ष प्रसारणको अवधिमा ३ करोड २१ लाख ट्वीट गरिए । जर्मनी र ब्राजिल वीचको सेमीफाइनल खेलमा भने ३ करोड ५६ लाख ट्वीट गरिएका थिए । ट्वीटरले विश्वका विभिन्न भागमा ट्वीट गरिएका स्थानको नक्सा नै देखाउने गरेको छ ।

त्यही खेल नै अर्को सोसल साइट फेसबुकका लागि पनि ठुलो घटना बन्यो । बिश्वकपको उक्त फाइनल खेल ‘फेसबुकमा सर्वाधिक छलफल गरिएको खेल घटना’ बन्यो । फेसबुकका ८० करोड ८० लाख प्रयोगकर्ताले लाइक्स, पोस्ट र कमेन्ट गरी २ अर्ब ८० करोड प्रतिक्रिया जनाए । एक महिनासम्म चलेको बिश्वकपमा सबै गरी ३ अर्ब प्रतिक्रिया जनाइए । ब्राजिलका स्टार खेलाडी नेयमार सर्वाधिक चर्चा गरिएका खेलाडी बने । त्यसपछि अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र उरुग्वेका लुइस सुआरेजका वारेमा सर्वाधिक चर्चा भयो ।

No comments:

Post a Comment